पाथीभरामा जाने केवलकार निमार्ण विषयमा झडप, कति हुँदैछ लगानी ?

0 Shares

काठमाडौँ । प्रसिद्ध धार्मिक स्थल पाथीभरा जाने बाटोमा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका छन् । ताप्लेजुङमा रहेको पाथीभरामा जान केवलकार निर्माण गर्नु पर्ने र निर्माण गर्न नहुने पक्षका बीच झडप भएको हो ।

दुई पक्षबीच झडप भएसँगै नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले झडपलाई नियन्त्रणमा लिन खोजे पनि दुवै पक्षबीच आफ्नो अडान जारी राखेको जनाएको छ ।

पाथीभरा मन्दिरमा जान केवलकार निर्माण गर्नका लागि आज निर्माण कम्पनीले शिलान्यास गर्ने कार्यक्रम थियो । कार्यक्रमलाई अवरोध गर्न विभिन्न स्थानबाट निर्माण गर्न नहुने पक्षहरू पुगेका थिए ।

केवलकार निर्माण गर्न नहुने पक्षधरहरूले पाथीभरालाई ‘मक्कुमलुङ्ग’का नाममा विशेष आस्था राख्दै आएका छन् । पाथीभरा देवी मन्दिर जानका लागि केवलकार निर्माण हुने भएसँगै चार वर्षदेखि यो क्षेत्रमा तनाव हुँदै आएको छ ।

पाथीभरा दर्शन केवलकार प्रा.लि.ले पाथीभरामा जाने केवलकार निर्माण गर्ने अनुमति पाएको छ । कम्पनीलाई सरकारले केवलकार निर्माण ४.९७ हेक्टर जमिन दिने निर्णय गरेको छ ।

पाथीभराको तल्लो फेदी काफ्लेपाटीदेखि मन्दिरसम्म २.७४ किलोमिटर दूरीमा केवलकार बन्ने छ । केवलकार निर्माण गर्न दुई अर्ब ५५ करोड लागत अनुमान गरिएको छ । यो केवलकार व्यवसायी चन्द्र ढकाल नेतृत्वको आइएमइ ग्रुपको हो ।

सम्बन्धित समाचार