गैँडाकोटले सयपत्री फूल जिल्ला बाहिर पठाउँदै

0 Shares

काठमाडौँ । नवलपरासी (बर्दघाट-सूस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र यस वर्ष सयपत्री फूल खेती फस्टाएको छ । उत्पादित सयपत्री फूल स्थानीय बजारका साथै छिमेकी जिल्लामा पठाउने गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

नगरपालिकाले फूलको बीउमा अनुदान तथा प्राविधिक सहयोग गरेपछि फूलको उत्पादन वृद्धि भएको हो । यस वर्ष स्थानीय फूलको माला प्रवर्द्धन गर्न नगरपालिकाले प्लास्टिकका मालाको आयात बन्द गरेपछि किसानले उत्पादन गरेका फूल बढी खपत भएको गैँडाकोट १ की पुष्प व्यवसायी मीना केसीले बताउँछिन् ।

‘बारीमा ढकमक्क फूल फुलेको छ, तिहार भर्खरै सुरु भएको छ,’ उनले भनिन्, ‘तिहारको अवधिमा यहाँको सबै फूल खपत हुनेमा विश्वस्त छौँ ।’ एक्लो प्रयासमा तीन कठ्ठा क्षेत्रफलमा फूल खेती गरेको भन्दै केसीले बीउमा अनुदान तथा फूलमा रोग कीरा लागेमा व्यवस्थापनका लागि नगरपालिकाले प्राविधिक सहयोग गरिरहेको बताइन् ।

फूल खेती गर्न मेहनत धेरै गर्नु पर्ने भए पनि फूल बिक्री हुँदा नोक्सानी नहुने उनको भनाइ थियो । उनले गैँडाकोटमा उत्पादन भएको सयपत्री फूलको माला प्रतिगोटा ६० देखि एक सय रुपैयाँसम्म तथा फूल प्रतिकिलो पाँच सयसम्ममा बिक्री हुने गरेको बताइन् ।

गैँडाकोटमा सयपत्री फूलको उत्पादन राम्रो हुने भएकाले किसानलाई फूल खेतीमा आकर्षण गर्न अनुदान दिन सुरु गरिएको नगरपालिका कार्यालयले जनाएको छ । नगरपालिकाका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले सयपत्रीको उन्नत जातको बीउ लगाउँदा यस वर्ष राम्रो उत्पादन भएको बताए ।

‘हामीले सयपत्री फूलको बीउमा बिलको आधारमा ५० प्रतिशत अनुदान दिएका छौँ,’ उनले भने, ‘फूल खेतीको नियमित हेरचाह र रोगकीराको संक्रमण देखिँदा किसानलाई प्राविधिक सहयोग समेत गर्दै आएका छौँ ।’

गैँडाकोटमा फूल खेतीका लागि उपयुक्त माटो र हावापानी भएकाले आगामी वर्षमा उत्पादनसँगै क्षेत्रफल बढाउन किसान लक्षित विभिन्न कार्यक्रम ल्याउने योजना रहेको कृषि विकास शाखा प्रमुख शर्माले जानकारी दिए ।

सम्बन्धित समाचार