काठमाडौँ । चितवनमा गत वर्षको तुलनामा यस वर्ष फूल खेती घटेको छ । तिहारको समयलाई लक्षित गर्दै लगाइँदै आइएको सयपत्री फूलको क्षेत्रफल यस वर्ष घटेको हो ।
फ्लोरिकल्चर एसोसिएसनका जिल्ला अध्यक्ष तेजेन्द्र सापकोटाका अनुसार गत वर्ष तिहारको समयलाई लक्षित गर्दै ५० बिगाहा क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको थियो । अहिले उक्त क्षेत्रफल घटेर ४० बिगाहामा झरेको छ ।
अहिले तिहार लक्षित फूलखेती गर्ने किसानको संख्या पनि घटेको उनले जानकारी दिए । उनले भने, “गत वर्ष राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताले फूल खेती गरेका थिए, अहिले गरेनन् ।”
चितवनमा यस वर्षको तिहारमा तीन लाख ५० हजार फूलका मालाको माग हुने अनुमान गरिएको छ । अध्यक्ष सापकोटाका अनुसार उत्पादित फूलले चितवनलाई पुग्ने हुँदा यस वर्ष भारतबाट आयात गर्नु पर्ने अवस्था छैन ।
गत वर्ष केही भारतीयले भारतबाट बढी फूल आयात गरिदिँदा किसानले उत्पादन गरेका फूलले बजार पाउन नसकेको भए पनि यस वर्ष त्यस्तो अवस्था नआउने उनले विश्वास व्यक्त गरे ।
एसोसिएसनले जिल्लामा मालाको मूल्य तोकेको छ । उनले भने, “थोक मूल्य प्रतिमाला ६० र खुद्रा मूल्य एक सय रुपैयाँ तय गरिएको छ ।”
जिल्लामा व्यावसायिक रुपमा फूल खेती गर्ने तीन चार जना भएको भए पनि ‘सिजनेवल’ फूलखेती गर्नेहरु आमा समूहदेखि व्यक्तिहरुसमेत हुने गरेका छन् ।
एक कट्ठादेखि बिगौँ बिगाहा क्षेत्रफलसम्म फूल खेती गर्नेहरु रहेको सापकोटाले बताए । भरतपुर महानगर ७ उज्ज्वलटोलका ईश्वरकुमार श्रेष्ठले यस वर्ष १३ कट्ठा क्षेत्रफलमा फूल खेती गरेका छन् ।
उनका अनुसार गत वर्ष भारतीय फूल बढी आयात हुँदा उत्पादन भएका फूलमाला कम बिक्री भएका थिए । त्यस कारण गत वर्षको तुलनामा फूल उत्पादन गर्ने किसान कम हुँदा यस वर्षको तिहारमा फूलको माग बढी हुने उनले बताए ।
तिहारमा मखमली र सयपत्री फूलको माग बढी हुने गरेको छ । त्यसमा पनि सयपत्रीको माग उच्च हुन्छ । असोजदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको समय पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ ।
पछिल्लो समय सभासमारोहमा समेत सयपत्री फूलको माला प्रयोगमा आएसँगै बाह्रै महिना फूल खेती गर्नेहरु पनि रहेका छन् ।