काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सोमबार बस्नु पर्ने नियमित बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण आज बस्न लागेको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको बैठकले डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौता विवाद उत्कर्षमा रहँदा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गर्न सक्ने बालुवाटार स्रोतले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युतको महसुल नतिर्ने ३४ उद्योगको लाइन काटेपछि असन्तुष्ट बनेका प्रधानमन्त्री ओली र उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काको विशेष प्रस्तावमा उनलाई पदबाट हटाउने अन्तिम तयारी गरिएको हो ।
आजको बैठकबाट घिसिङलाई प्राधिकरणबाट मन्त्रालयमा तान्न प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस सहमत भएकाले यसबारे विशेष निर्णय हुने सम्भावना भएको हो ।
लामो समयदेखि विवदित डेडिकेटेड र ट्रंकलाइन विवादमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङमाथि सरकार पटकपटक खनिँदै आएको छ ।