काठमाडौँ । पछिल्लो समय हवाई उडानमा सुरक्षा अफवाह आइरहेका छन् । अज्ञात समूहबाट एक साताको अवधिमै नेपालमा दुई पटक यस्तो अफवाह फैलाइएको छ ।
काठमाडौँबाट भारतको नयाँ दिल्ली उड्न लागेको एअर इण्डियाको विमानमा बम राखेको हल्लापछि विमानमा सवार यात्रुलाई ओराले जाँच भएको थियो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार एअर इण्डियाको विमानमा बमको हल्लापछि अहिले जाँच भएको हो । तर, कुनै शंकास्पद वस्तु फेला परेको छैन ।
‘भारतबाट नेपाल आउने विमानमा बम राखिएको हल्ला आइरहेको छन् तर, अहिलेसम्म त्यस्तो कुनै शंकास्पद वस्तु फेला परेको छैन,’ प्रवक्ता कार्कीले भने ।
दिउँसो २ बजे काठमाडौँ विमानस्थलमा अवतरण भएको एअर इण्डियाको विमानमा बम राखेको अज्ञात समूहबाट जानकारी आएपछि नेपाली सेना र नेपाल प्रहरीको विशेष टोलीले जाँच सुरु गरेको थियो । विमान काठमाडौँबाट १५८ यात्रु लिएर दिल्ली उड्ने तयारीमा थियो ।
यसअघि यही कात्तिक ६ गते भारतको विमान सेवा कम्पनी भिस्तारा एअरको विमानमा बम राखेको हल्ला फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको विस्पोटक पदार्थ निस्किृय गर्ने विशेष टोलीले खानतलासी गरेको थियो ।