‘बा’ हिँडेको बाटो हेर्न फ्रान्सबाट आए छोरा

0 Shares

काठमाडौँ । पहिलो अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरो माथिएस हर्जोग ७५ वर्षअघि आफ्ना बुबा हिँडेको बाटो हिँडेर पहिलो अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुगेर फर्किएका छन् ।

गत शुक्रबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ आएका हर्जोग शनिबार आफ्ना बुबा मौरिसका पदचाप पछ्याउँदै अन्नपूर्ण हिमालको आधार शिविर पुगेका थिए ।

म्याग्दीको अन्नपूर्ण ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुग्नुभन्दा तीन वर्षअघि सन् १९५० जुन ३ तारिखमा मौरिस हर्जोगसहित फ्रान्सेली टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको थियो ।

बुबा हिँडेको बाटो हेर्न र हिँड्न अन्नपूर्ण क्षेत्रमा आएका माथिएसले प्राकृतिक सुन्दरताले भरिपूर्ण अन्नपूर्ण प्रथम हिमालको विश्वभर प्रचार प्रसार गर्न अनुरोध गरे । माथिएसले अन्नपूर्ण र मौरिस हर्जोग पदमार्गलाई विश्वभर चिनाउन आफूले सक्दो पहल गर्ने बताए ।

माथिएसलाई उद्धृत गर्दै उनीसँगै अन्नपूर्ण आधार शिविर गएका मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङले भने, ‘जेठो हिमाल भनेर चिनिने अन्नपूर्ण अहिले गुमनाम जस्तै छ, अन्नपूर्णको पर्यटकीय सम्भावनाका बारेमा विश्वभर प्रचार प्रसार गर्नु पर्दछ, मौरिस हर्जोग पदमार्ग, आधार क्षेत्र लगायतका स्थानमा पर्यटन पूर्वाधार निर्माण गरेर विश्वभरका पर्यटकलाई यस क्षेत्रमा ल्याउनु पर्दछ ।’

अभियान्ता गुरुङका अनुसार माथिएसले आधार शिविरस्थित पञ्चकुण्ड ताल नजिक राखिएको पिता मौरिसको सालिकमा माल्यार्पण गर्नुका साथै सामूहिक तस्बिर पनि खिचेका थिए । उनले आधार शिविर पुगेर केहीबेर ध्यान पनि गरेको गुरुङले बताए ।

सन् २०२५ जुन ३ मा अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा माथिएसले ८२ वर्षीय आमासहित सम्पूर्ण परिवार अन्नपूर्णको पदयात्रामा आउने प्रतिबद्धता व्यक्त गरेको गुरुङले बताए ।

बुबाले लेखेको ‘द अन्नपूर्ण’ किताबलाई नेपालीलगायत अन्य भाषामा पनि अनुवाद गरेर प्रकाशित गर्ने माथिएसको भनाइ थियो । हर्जोगले अन्नपूर्ण आरोहण गरेको सम्झनामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरण समेत गरेको छ ।

आधार शिविरमा रहेको पञ्चकुण्ड ताल नजिक मौरिसको सालिकसमेत राखेको छ । माथिएसको अन्नपूर्ण क्षेत्रको भ्रमणले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको पालिका अध्यक्ष भरतकुमार पुनले बताए ।

सम्बन्धित समाचार