सहकारी ठगी गर्नेको सम्पत्ति बेचेर बचत फिर्ता गर्न गगनको सुझाव

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले विधिको शासनमा कुनै सम्झौता नगर्ने विश्वास जनतालाई गराउनु पर्ने बताएका छन् ।

सोमबार काठमाडौँमा राष्ट्र बैंक कर्मचारीको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री थापाले जनतालाई सरकार भएको महसुस हुनु पर्ने र विधिको शासनका कुनै सम्झौता गर्दैन भन्ने विश्वास दिलाउनु पर्ने बताएका हुन् ।

यस क्रममा उनले सहकारी प्रकरणमा बचतकर्ताको रकम फिर्ता गर्न सरकारले काम अघि बढाउनु पर्ने बताए । सहकारी ठगी गर्नेको सम्पत्ति बेचेर सानो बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु गर्नु पर्ने उनको भनाइ थियो ।

‘हजारौँका संख्यामा डिपोजिट गर्ने साना बचतकर्ता मर्कामा छन्, सहकारी बचतकर्ताको सम्पत्ति रोक्का गरेर साना बचतकर्तालाई पैसा फिर्ता दिनु, ठूला बचतकर्ताको आम्दानीको स्रोत खोज,’ उनले भने, ‘सहकारी सञ्चालन गरी फरार भएर घाम तापेर बसेका हुन् कि, घण्टी बजाएर बसेका हुन् कि वा रुखको छहारीमा बसेका हुन् सबै दोषीलाई कारबाही गर्नु पर्छ ।’

महामन्त्री थापाले सहकारी प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गर्नु पर्ने भन्दै संसदीय छानविन समितिको प्रतिवेदन पूर्ण रुपमा कार्यान्वयन हुनु पर्नेमा जोड दिए । उनले सहकारी ठगीमा नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न सरकारलाई सुझाव दिएका थिए ।

उनले जुनसुकै दलका नेता भए पनि अनुसन्धानमा गल्ती देखिए कारबाही गर्न सरकार पछि हट्न नहुने बताएका थिए ।

सम्बन्धित समाचार