दमौली बजारमा सडक विस्तारले गति लिँदै

0 Shares

काठमाडौँ । निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ । अन्य ठाउँमा कामले गति लिइसक्दा पनि दमौली बजारमा काम हुन सकिरहेको थिएन ।

दमौली बजारमा डिजाइन सेन्टरबाट २३-२३ मिटरलाई आधार मानेर सडक विस्तार सुरु भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार दमौली बजार खण्डमा नाला निर्माण भइरहेको छ ।

पाण्डेले भने, “केही समय पहिला बिजुलीको नयाँ पोलहरु गाडीएको छ, बिजुलीको पोललाई आधार मानेर त्यसभित्र सडक विस्तार हुनेछ ।”

पाण्डेकाअनुसार सडकविन्दुबाट १२ दशमलव २५ मा नाला निर्माण हुनेछ । बिजुलीको पोलभन्दा बाहिर दुई मिटरमा पैदलमार्ग निर्माण गरिने उनले जानकारी दिए ।

पाण्डेले थपे, “दशैँ बिदा अगाडिदेखि काम सुरु गरिएकामा दशैँ बिदा सकिएपछि कामले झनै गति लिएको छ, मुग्लिन पोखरा सडकको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी, बन्दीपुरमा कामले गति लिँदा सदरमुकाम दमौलीमा काम हुन सकिरहेको थिएन ।”

सडक विस्तारका क्रममा दमौली बजारका ७४ घरटहरा भत्काइने छन् । त्यसभित्र जिल्ला प्रहरी कार्यालयको गेट, दुर्गा मन्दिर लगायतका संरचना पर्छन् । केही लाभग्राहीले पहिलो किस्ता बापतको रकम बुझिसकेको पाण्डेले बताए ।

पूर्वी खण्डमा आर्थिक वर्ष २०८०र८१ मा एकतर्फी रुपमा ५५ किलोमिटर दुई लेन कालोपत्र भएको छ । हालसम्म भने एकतर्फी रुपमा ६३ किलोमिटर कालोपत्र सकिएको पाण्डेको भनाइ छ ।

आयोजनाका लागि पुँजीगततर्फ दुई अर्ब ९९ करोड बजेट विनियोजन भएकामा दुई अर्ब १४ करोड खर्च भएको जनाइएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

सम्बन्धित समाचार