काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एमालेले शान्तिपूर्ण आन्दोलनलाई अपराध देख्नु र आन्दोलनकारीलाई तर्साउने सोच राख्नु क्रुर नाजीवादी सोच भएको टिप्पणी गरेका छन् । एमाले महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ती जारी गर्दै सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि रास्वपाले गरेको आन्दोलनले प्रहरी अनुसन्धानमा बाधा पुगेको भन्दै त्यस्तो गतिविधि नगर्न भनेपछि साहले यस्तो टिप्पणी गरेका हुन ।
उनले एमालेले शाहीकालको जस्तो व्यवहार देखाउनु लोकतन्त्रको उपहास भएको दाबी गरेका छन् । साहले आफूले यसअघिदेखि भन्दै आएको कुरा मुलुकमा अहिले लोकतन्त्र नभएर दलतन्त्र हाबी भएको कुरा एमालेको पछिल्लो गतिविधिले झनै पुष्टि गरेको स्पष्ट पारे । एमाले महासचिव पोखरेलको विज्ञप्ती आएलगत्तै सिंहदरबारमा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले एमाले ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालको अवस्थामा पुगेको बताए ।
उनले भने,‘नागरिकले शान्तिपूर्ण आन्दोलन गर्न पाउने उसको अधिकार हो । संविधानले नै यो कुरा ग्यारेन्टी गरेको छ । अनि शान्तिपूर्ण आन्दोलनमाथि दमन गर्ने, आन्दोलन नै गर्न पाउँदैनस् भन्नु दमनकारी सोच हो । यो अधिनायकवादी सोच हो । एमालेको व्यवहार त बच्चालाई कुट्ने अनि रुनपनि नदिनेजस्तो देखियो ।’
साहले अब जनताको शासन स्थापित गर्न निर्णायक संघर्षमा होमिनुपर्नेमा जोड दिए । उनले आफूले त गत चैत्रमा नै काठमाडौंमा बृहत्त आमसभा गरेर तेस्रो जनआन्दोलनको उद्घोष गरेको र अहिलेका नेताहरुको कुकर्मको कारण तेस्रो जनआन्दोलन सम्मनिकट आएको सुनाए ।