काठमाडौँ । पर्वतको विभिन्न क्षेत्रमा परेको असिना पानीले मुखमा आएको धान बालीमा नोक्सानी पुगेको छ । कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छ ।
कतिपय ठाउँमा पाकेको धान झारेर नष्ट भएको किसानले बताएका छन् । जिल्लाको कुश्मा र फलेवास नगरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा असिना पानीले क्षति पुर्याएको हो ।
कुश्मा १० पिपलटारीका किसान दीपक सुवेदीले पाकेर काट्ने बेलाको धान असिनाले नष्ट गरिदिएको गुनासो गरे । उनका अनुसार केही दिनमा काट्ने तयारी भएको धानमा क्षति पुगेको हो ।
एक घण्टासम्म परेको असिना पानीले झण्डै ४० प्रतिशत धान झारेको उनको भनाइ छ । सुवेदीका अनुसार जुकेखोला, चिन्नेखोला, अधिकारीफाँट, मल्याङ्दी, सालघारी, अर्गसेलगायत फाँटमा ठूलो नोक्सानी पुगेको छ ।
महाशिला ५ की किसान सरस्वती अधिकारीले काटेर सुकाएको धान असिना पानीले झारेर नष्ट गरिदिएको बताइन् । मौसमविद्ले मनसुन सकिएको र मौसम सफा रहने बताएपछि धान खाटेर सुकाएका किसान असिनाले क्षति पुर्याएपछि निराश बनेको उनको गुनासो छ ।
पर्वतका गत वर्ष पनि यही समयमा परेको असिनाले धानबालीमा नोक्सान पुर्याएको थियो । यस वर्ष समयमै मनसुन सुरु भएकाले समयमै रोपाइँ गरेका कारण धान उत्पादनसमेत बढ्न अनुमान गरिएको भए पनि असिनापानीले क्षति पुर्याएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जिल्लाका अधिकांश क्षेत्रमा असिनापानीले क्षति पुर्याएको छ । अहिले स्थानीय तहहरूले तथ्यांक संकलनको काम गरिरहेकाले केही दिनमा क्षतिको यकिन तथ्यांक आइपुग्ने बताए ।
ढलेको धानलाई उठाएर मुठा पारेर केही मात्रामा भए पनि क्षति कम गर्न सकिने भए पनि त्यसले बालीलाई पूर्ण सुरक्षित भने नबनाउने अधिकारीको भनाइ छ ।