कतै नफल्ने ‘जोरायली बासमती धान’ भित्र्याउन भ्याइनभ्याई

0 Shares

काठमाडौँ । डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल क्षेत्र मसिनो बास्नादार बासमती धान फल्ने ठाउँका लागि चर्चित छ । नेपालमा अन्यत्र कतै उत्पादन नहुने परम्परागत (रैथाने) जातको ‘जोरायली बासमती’का खेतको धान काटेर भित्र्याउन भ्याइनभ्याई छ ।

कर्मनासा नदीको वरिपरि देखिने धानका फाँटसहितको वरिपरिको प्राकृतिक दृश्य रमणीय छ । जोरायल गाउँपालिकामा पर्ने जोरायल क्षेत्रको भूबनोट वरिपरि पहाड र बीचमा समथर भाग रहेको छ । प्राकृतिक रूपमा मनोरम यो क्षेत्र समुद्र सतहदेखि अनुमानित एक हजार आठ सय मिटरको उचाइमा रहेको छ ।

अढाइ दशकदेखि सडक सञ्जाललगायत विकासका पूर्वाधार पुगेपछि यस क्षेत्रको समग्र विकासमा टेवा पुगिरहेको स्थानीयवासीको अनुभव छ । “सडक नहुँदा जोरायल क्षेत्रमा मालसामान ढुवानी गर्न र आवागमन गर्न समस्या थियो”, स्थानीय मदनराज जोशीले भने, “अहिले सडक पूर्वाधार पुग्दा किसानले आफ्नो कृषि उपज सहज रूपमा बजारसम्म पुर्याउन पाएको मात्र नभई आवागमन गर्न निकै सहज बनेको छ ।”

कैलालीको सीमासँग जोडिएको जोरायल क्षेत्रले रैथाने जातको मासिनो बास्नादार बासमती धान उत्पादनका लागि सदियौँदेखि छुट्टै पहिचान बनाएको छ । खानामा स्वादिलो, नरम र बास्नादार हुने विशेषताका कारण ‘जोरायली बासमती’ले यो क्षेत्रको पहिचान बनाएको हो ।

पछिल्ला वर्षमा यो धानको व्यावसायिक खेती सुरु भएसँगै स्थानीय किसानको आयआर्जन वृद्धि भइरहेको स्थानीय युवा भक्तराज जोशीले बताए । उनले भने, “व्यावसायिक रूपमा यसको खेती सुरु भएसँगै धान उत्पादन गर्ने किसान मात्र नभएर धानबाट चामल बनाएर कारोबार गर्दा भइरहेको आम्दानीले युवाहरू आकर्षित भएका छन् ।”

स्थानीय किसानले आफ्नो घरायसी उपभोगका लागि मात्र खेती गर्ने गरेकामा पछिल्लो दशकमा व्यावसायिक रूपमा यसको खेती गर्न थालिएको छ । यो धानले खेती योग्य अधिकांश जग्गा ओगट्न थालेपछि मार्सी, सलौज, थापाचिनीजस्ता रैथाने जातका धान खेती गरिने क्षेत्रफल घट्दै गएको जनाइएको छ ।

खेतका फाँट छेउ हुँदै बग्ने कर्नासी, गोगनी, सैगडालगायत नदीको पानीले खेतका फाँट सिञ्चित गर्न सहज भइरहेको छ । अग्लो ठाउँको र पाखो जग्गामा भने सिँचाइ पुर्याउन सकिएको छैन । सिँचाइ नपुगेको जग्गामा अन्य जातका धान खेती हुने गर्छ ।

यो क्षेत्रको समथर जग्गाको नदी छेउका फाँटको हावापानीमा बासमती जातको धान उत्पादनका लागि उर्वरभूमि मानिन्छ । धनगढी, अत्तरियालगायत सहरी क्षेत्रमा बासमती चामलको भात खाने बानी परेका सौखिनहरू यसको चामल खोज्दै हिंँडेको भेटिन्छन् । टोलको कुनै घरमा यो चामलको भात पाक्दै गर्दा पूरै टोलभरी सुगन्ध फैलिन्छ ।

तत्कालीन राजा महेन्द्रले गरेको जोरायल भ्रमणका क्रममा ‘जोरायली बासमती’ चामलको भातको प्रशंसा गरेको स्थानीय वयोबृद्धको भनाइ छ । पछिल्ला दशकमा यो धानको बीउ हराउने हो कि भन्ने चिन्ता स्थानीयमा बढेपछि गाउँपालिका र किसानको संयुक्त पहलमा यसको रैथाने बीउ संरक्षणको पहल पनि भइरहेको छ ।

रासायनिक मलको प्रयोग नगरी गोबर कम्पोष्ट मलको प्रयोगले मात्र खेती गर्दा पनि यो धानको उत्पादकत्व राम्रो हुने गरेको स्थानीय किसानको अनुभव छ । पछिल्ला वर्षमा भने यसको खेती गर्दा रासायनिक मलको पनि प्रयोग गर्न थालिएको छ ।

चाडपर्वका समयमा पकाइने मिठोमसिनो खानाको परिकारका रूपमा बासमती चालमको भातलाई लिने गरिन्छ । चाडपर्वका दिन छरछिमेकीसंँग पैंँचो मागेर भए पनि यो चामलको भात हरेकका घरमा पाक्ने गर्छ ।

सम्बन्धित समाचार