काठमाडौँ । दसैँ मनाउन उपत्यकाबाट बाहिरिएकाहरू फर्किने क्रम बढेको छ ।
उपत्यका प्रवेश गर्ने नाकामा यात्रुको चाप बढेको छ । भक्तपुरको जगाती, काठमाडौंको बल्खु, नागढुंगा र माछापोखरीलगायत नाकाबाट यात्रु उपत्यका भित्रिने क्रम बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दसैँको टीकाको दिन शनिबारदेखि मंगलबारसम्म चार लाख यात्रु उपत्यका भित्रिसकेका छन् । यीमध्ये तीन लाख यात्रु बस र मिनीबसबाट भित्रिएका थिए भने अन्य यात्रु हवाईजहाज, भ्यान, कार, ट्रकलगायत सवारीसाधनबाट भित्रिएका हुन् ।
प्रहरीका अनुसार विजयादशमीको दिनयता हवाईमार्गबाट करिब १० हजार यात्रु उपत्यकामा भित्रिएका छन् । यसपटक दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको संख्या करिब १२ लाख थियो । सडकको असहज अवस्थाका कारण विगतमा भन्दा यसपटक उपत्यका छाड्नेको संख्या कम छ ।
विगतका वर्षमा करिब १५–१६ लाख मानिस दसैँमा घर फर्कने गरेको प्रहरीको आँकडा छ । तर, यसपटक अस्तव्यस्त सडक र महँगो हवाई भाडाका कारण उपत्यका छाड्ने यात्रुको संख्यामा कमी देखिएको थियो । ‘दसैँ सकिएपछि उपत्यका भित्रिने यात्रुको चाप धेरै छ ।
बाहिरिएकामध्ये अझै धेरै यात्रु आउन बाँकी छ, कतिपय तिहारपछि पनि आउँछन्,’ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख बोहराले भने, ‘दैनिक सबैजसो सवारीसाधनमा गरी ५०–६० हजार हाराहारी यात्रु आइरहेका छन् ।’