काठमाडौं ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका पदाधिकारीहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न खुमलटार पुगेका छन् । प्रचण्ड निवास खुमलटारमा सोमबार बिहानै प्रचण्डसँग अखिल क्रान्तिकारी नेताहरूले छलफल गरेका हुन् ।
सङ्गठनको जारी २३ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रमा पेस भएको मस्यौदा विधानमाथि उठेको प्रश्नको जवाफ दिएपछि आजै संशोधन सहित पारित गर्ने कार्य तालिका छ । नेतृत्वको छनोटका लागि सोमबार बेलुकादेखि निर्वाचन प्रक्रिया अगाडि बढ्दै छ ।
अध्यक्ष प्रचण्डले नेतृत्व चयनदेखि सङ्गठनको उमेर हद सबै चुनावी विधिबाट हल गर्न निर्देशन दिएको एक नेताले बताए । ‘अहिले सकेसम्म नेतृत्व चयन सर्वसम्मत हुन्छ भने सर्वसम्मत गर्नुस् । हुँदैन भने चुनावी विधिबाट जानुपर्छ ’ ती नेताले प्रचण्डको भनाई उल्लेख गर्दै भने, ‘तत्काल विद्यार्थी राजनीतिबाट बिदा हुनुपर्ने अवस्था आए । अब आउने चुनावमा पार्टी एक्लै लड्ने तयारी गर्दै छ । त्यसमा पालिकादेखि,प्रदेश र प्रतिनिधि सभा चुनावमा टिकटको अवसर छ ।” अध्यक्ष प्रचण्डले विद्यार्थी सङ्गठनमा पार्टीले कुनै हस्तक्षेप नगर्ने भएकाले स्वतन्त्रढंगले नेतृत्व चयन गरी सङ्गठन एक ढिक्का बनाउन निर्देशन दिएको ती नेताले बताए ।
अहिले विद्यार्थी सङ्गठनको पदाधिकारी बैठक बसेर चुनावी विधि र प्रतिनिधि छनोटको विषयमा छलफल गर्ने भएको छ । त्यसपछि चुनावी कार्य तालिका सार्वजनिक गरेर चुनावी प्रक्रियामा जाने भएको छ ।