त्रिशूली नदीले बगायो दुई एक्साभेटर र तीन टिप्पर

0 Shares

काठमाडौँ । त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका १, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका ३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिप्पर बगाएको छ ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण नदीमा आएको बाढीले शुक्रबार राति करिब १० बजे आयोजनाको तीन वटा टिप्पर र दुई वटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह-प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

बाढीले नदीको बीच भागमा रहेको मेसिन तथा टिप्पर बगाएको आयोजनाका कर्मचारी संगम मग्रातीले जानकारी दिए । “साँझतिर एउटा एक्साभेटर र एउटा टिप्पर बगाएको थियो,” उनले भने, “सोही ठाउँमा रहेका अरू पनि राति करिब १० बजे बगाएको छ ।”

नदीमा बाढी आएपछि दिउँसोदेखि आयोजनाको तीन वटा टिप्पर, दई वटा एक्साभेटर नदीको बीचमा फसेको थियो । नदीको मध्यभागमा फसेको मेसिन निकाल्ने प्रयास गरिए पनि नसकिएको उनको भनाइ छ ।

ब्लू इनर्जी कम्पनीले बुट्टारमा एक सय मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोही आयोजना निर्माणमा प्रयोग भएका टिप्पर र एक्साभेटर नदीले बगाएको छ ।

सम्बन्धित समाचार