काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिकाले वडा नं ९ र १० को सिमानामा अवस्थित झोलुङ्गे पुलमा अराजक गतिविधि गरेको आरोपमा आशिका तामाङलाई पक्राउ गरी कारबाही गर्न प्रहरीमा जाहेरी परेको छ ।
आफूलाई सामाजिक अभियन्ता भन्दै सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गर्ने, तोडफोड गर्ने, आगजनी गरेको आरोपमा आशिकालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरीवृत्त जगातिमा जोहरी दिएको नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले बताए ।
नगरपालिकाले आज पत्रकार सम्मेलन गरी वडा नं ९ र १० को सिमानाबाट ओहोरदोहोर गर्ने गरी विगत तीन वर्षदेखि सञ्चालनमा ल्याएको झोलुङ्गे पुल चढेबापत पैसा लिएको भन्दै असोज ७ गते आशिकाको नेतृत्वमा गएको टोलीले अस्थायी संरचना तोडफोड तथा आगजनी गरेको प्रवक्ता सापकोटाको भनाइ थियो ।
“युट्युबलाई कमाई खाने भाँडो बनाउने उद्देश्यले आफूलाई स्वघोषित सामाजिक अभियन्ता बताउने आशिकासहितको टोलीले नगरपालिकाको सम्पत्तिमाथि चक्कु, कैँची, पेञ्चिस, घनलगायत घरायसी हतियारको प्रयोग गरी ब्यानर च्यात्ने, टिकट जलाउने र झोलुङ्गे पुलको संरचना तोडफोड गरी भत्काएको छ”, नगरपालिकाका प्रवक्ता सापकोटाले भने, “त्यो ताण्डव सार्वजनिक सम्पत्ति माथि गर्न पाइँदैन ।”
पत्रकार सम्मेलनमा नगर प्रमुख वासुदेव थापाले वडा नं ९ बाट १० मा प्रवेश गर्ने पुल एक मात्र विकल्पको बाटो नभई पैदल जान पनि सहज भएको बताए । उनले झोलुङ्गे पुल पर्यटन प्रवद्धनकै लागि बनाइएकाले शुल्क लिएको बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले नगरपालिकाले कानूनसम्मत शुल्क लिएको दाबी गरे । उनले भने, “संघीय सरकारले बनाएको स्थानीय तह सञ्चालन ऐनमा व्यवस्था गरिएअनुसार पर्यटकीय क्षेत्रको शुल्क लिएका हौँ, पुल ऐच्छिक हो, मन्दिर पुग्न अर्को पुरानो बाटो छ ।”
नगरपालिकाले आर्थिक वर्ष २०७९/८० देखि साँगाको उक्त पुलबाट ओहोरदोहोर गर्दा २० रुपैयाँ शुल्क लिने गरी ठेक्कामा लगाएको थियो । नगर प्रमुख थापाले स्थानीय दुई वडाका बासिन्दालाई भने प्रवेश निःशुल्क गरिएको र सूर्यविनायकका बासिन्दाका लागि शुल्कमा ५० प्रतिशत छुट गरिएको जानकारी दिए ।
प्रवेश शुल्कको वास्तविकता के हो भन्ने नबुझी अफवाह फैलाउने प्रायोजित उद्देश्यले आफूखुसी भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट गरिएको भन्दै नगरपालिकाको मंगलबार बसेको १७५औँ कार्यपालिकाको बैठकबाट निर्णय गरी जोहरी दिएको हो ।