भोटेकोशी बाढीपछि ७ हजार ९९२ प्रहरी परिचालन, ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म प्रयोग

0 Shares

काठमाडौँ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत व्यवस्थापन तथा नागरिकको सुरक्षाका लागि सरकारले मंगलबारसम्म ७ हजार ९९२ प्रहरी परिचालन गरेको छ।

प्रहरीका अनुसार प्रहरी प्रधान कार्यालयबाट १ हजार ६०२, वागमती प्रदेश प्रहरी कार्यालयबाट २ हजार १८२, गण्डकी प्रदेशबाट १ हजार ३०९, लुम्बिनी प्रदेशबाट ६४० र काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट ७५४ जना परिचालन भएका छन्।

त्यस्तै प्रहरी अस्पताल महाराजगञ्जबाट ३९७, राप्रप्रप्र महाराजगञ्जबाट ४५०, प्रहरी शिक्षालयबाट ३५६ र प्रयुताके जर्गाहबाट २२२ जना प्रहरी प्रभावित क्षेत्रमा खटिएका छन्।

२४सै घण्टा विपद् सूचना केन्द्र

विपद् प्रभावित क्षेत्रमा प्रभावकारी समन्वयका लागि प्रहरी प्रधान कार्यालयमा ‘आपत्कालीन समन्वय केन्द्र’ स्थापना गरिएको छ। विपद्सम्बन्धी कार्य तथा तथ्यांक व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नेतृत्वमा २४सै घण्टा सञ्चालन हुने ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ समेत गठन गरिएको प्रहरीले जनाएको छ।

अस्पताल र विमानस्थलमा फोकल डेस्क

घाइतेको उपचार तथा मृतकका परिवारसँग समन्वय गर्न अस्पताल र विमानस्थलमा ‘फोकल डेस्क’ स्थापना गरिएको छ।

वीर अस्पतालमा ३०, सिभिल अस्पतालमा १३ र काठमाडौँ मेडिकल कलेजमा पाँच प्रहरी परिचालन भएका छन्। त्रिभुवन शिक्षण अस्पतालमा डीआईजीको नेतृत्वमा ६२ जना प्रहरी खटिएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एसपीको नेतृत्वमा आठ प्रहरी परिचालन गरी स्वदेशी तथा विदेशी नागरिकको शव व्यवस्थापन र घाइतेको लगत तयार पार्ने डेस्क सञ्चालन गरिएको छ।

ड्रोन, कुकुर र स्याटेलाइट फोन प्रयोग

दुर्गम तथा पैदल पुग्न कठिन क्षेत्रमा खोजी कार्यलाई प्रभावकारी बनाउन रसुवा, नुवाकोट र धादिङमा १२ वटा ड्रोन परिचालन गरिएको छ।

खोजीका लागि पाँचवटा तालिमप्राप्त कुकुर तथा सञ्चार सम्पर्कविहीन दुर्गम क्षेत्रमा सूचना आदानप्रदानका लागि सातवटा स्याटेलाइट फोन प्रयोगमा ल्याइएको छ।

घटनास्थल अनुसन्धान तथा मुचुल्काका लागि ६७ जना र विभिन्न जिल्लामा शव पहिचान तथा व्यवस्थापनका लागि ७१५ जना प्रहरी परिचालन भएका छन्। शवको डीएनएलगायत वैज्ञानिक परीक्षणका लागि फरेन्सिक विज्ञसहितको विशेष टोलीसमेत परिचालन गरिएको छ।

घाइतेको उपचारका लागि नेपाल प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकको टोली प्रभावित क्षेत्रमा खटाइएको प्रहरीले जनाएको छ।

बाढीपछि चोरी र ठगीमा संलग्न पक्राउ

विपद्को मौका छोपेर चोरी, लुटपाट तथा ठगी गर्ने गतिविधिमाथि पनि प्रहरीले निगरानी बढाएको छ।

नारायणी नदीले बगाएर ल्याएको एक महिलाको शवबाट सुनको मुन्द्रा तथा गहना निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अनुसन्धानका क्रममा चितवन मदनपुरका २५ वर्षीय मदन गुरुङ र ३८ वर्षीय उमेश चौधरी पक्राउ परेका छन्।

त्यस्तै धादिङको गल्छी–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा बाढीले बगाएर ल्याएको बैंकको सेफ तोडी नगद हिनामिना गरेको आरोपमा २९ जना स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

बाढीपीडितका नाममा नक्कली पोस्ट बनाएर फेसबुकमार्फत रकम उठाउन खोजेको आरोपमा रामेछाप गोकुलगंगा–२ ठोसे बजारका ३२ वर्षीय सृजन कार्कीलाई समेत प्रहरीले पक्राउ गरेको छ।

नदी किनारमा सेफ फेला पर्ने क्रम जारी

गल्छी–६ बैरेनी बजारमा सडक सफा गर्ने क्रममा बालुवा र लेदोले पुरिएको अवस्थामा १९ इन्च लम्बाइ र १६ इन्च चौडाइको बन्द सेफ फेला परेको छ। उक्त सेफ प्रहरी चौकी बैरेनीमा सुरक्षित राखिएको छ।

परेवाटार–मलेखु त्रिशूली नदीको बगरमा अर्को नफोडिएको सेफ फेला परेको छ। मलेखु खोलामा देखिएको अर्को सेफ निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

चितवनमा पनि उच्च सतर्कता

बाढीको बहाव पहाडी क्षेत्रबाट तराईतर्फ झर्ने क्रममा सम्भावित जोखिम न्यूनीकरणका लागि चितवनमा विशेष सतर्कता अपनाइएको छ। नारायणी नदी आसपासमा मात्रै ७५७ प्रहरी परिचालन गरिएको छ।

प्रहरीले भौतिक अवरोध हटाउने, फेला परेका सामग्री व्यवस्थापन गर्ने तथा प्रभावित नागरिकलाई राहत वितरणमा सहजीकरण गर्ने कामसमेत गरिरहेको जनाएको छ।

प्रहरीले प्रभावित क्षेत्रका नागरिकलाई संयमित रहन आग्रह गर्दै सम्भावित जोखिमबाट जोगिन सामुदायिक सचेतना कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार