आज हामी पत्रकारिता भित्र एक यस्तो मोडमा आइपुगेका छौँ, जहाँ सत्य लेख्नु अपराध बन्न थालिसकेको छ र झुट्टा गफ उचाल्नु प्रतिभा मानिन थालेको छ । पत्रकारिता अब कलम र आवाजको धर्म होइन, त्यो त पहुँच र पदको लिलामी स्थल जस्तै देखिन थालेको छ । हामी जसरी विभिन्न सङ्गठनमा आबद्ध भयौँ, आशा गरियो कि ती सङ्गठनहरूले पत्रकारहरूको हकहितको रक्षा गर्लान्, निष्पक्ष रिपोर्टिङको संरक्षण गर्लान्, तर ती सङ्गठनहरू आफैँ शक्तिका दलाल बनेर नाङ्गिएको छातामुनि नेताको जुत्ता पालिस गर्न थाले।
आफ्ना निजी स्वार्थ पूर्ति गर्न पत्रकारको नाममा खोलिएको सङ्गठनहरू भित्र अब पत्रकार होइन, दलाल, चाकडी बाज र भाडाका जिब्रोहरू बस्न थालेका छन् । नीतिमा होइन नेताको झोलामा चासो राख्ने, विचारमा होइन आदेशमा रिपोर्ट लेख्ने, र तथ्यभन्दा पार्टीको टिसर्ट लगाएर घुम्ने पत्रकारको भीड बढेको छ । जनताको आँसुभन्दा नेताको हाँसो हेरेर हेडलाइन बनाउने प्रवृत्ति अब साधारण हुन थालेको छ । यस्तो लाग्छ – देश बरबाद भए पनि फरक पर्दैन, तर नेता रिसाउन नपरोस् !
यी सङ्गठनभित्रका केही व्यक्तिहरू पत्रकार होइनन् – उनीहरू मिडिया लाइसेन्समा ढोँग गर्ने प्रवक्ता हुन्, जसले सत्ता र सत्ताका सन्तानको पखेटा मिचेर पत्रकारिताको मूल आत्मालाई चरम सस्तो बनाइरहेका छन् । कुनै रिपोर्टिङमा साँचो खोज्नु परे पत्रकारिता छाडेर साहित्य पढ्नुपर्छ जस्तो लाग्न थालिसकेको छ । किनकि आजभोलि रिपोर्ट हेर्दा स्रोत छैन, नाम छैन, प्रमाण छैन – छ त केवल ‘सुनिएको छ’, ‘भनेका छन्’, ‘स्रोतले बताएको’ छ
आज पत्रकारिता सङ्गठनहरू भित्र साँचो पत्रकारको पहिचान गुम्दै गएको छ । त्यहाँ विचार होइन, विचलन छ । त्यहाँ नेतृत्व होइन, दलालहरूको साम्राज्य छ । जसको मुखमा नेताको प्रशंसा छ, ऊ योग्य पत्रकार जसले प्रश्न गर्छ, ऊ असहयोगी र अपमानित। जब पत्रकार भित्रैबाट जनताको आवाज दबाउने काममा लाग्छन्, तब त्यो केवल ‘संगठनको कलंक’ होइन, समग्र लोकतन्त्रको धोका हुन्छ।
न्यायका लागि कलम चलाउने पत्रकारहरू साइड लाइनमा छन्, जबकि नेताको जन्मदिनमा बधाई लेख्ने देखावटी पत्रकार फ्रन्ट पेजमा छन्। यस्तो पत्रकारिता होइन, यो त प्रेसको पटके प्रयोग हो । आज नेता खुसी हुने शैलीमा समाचार लेखिन्छ – न त छानबिन, न त खोज पत्रकारिता केवल ‘सेवा सूचनाको आवरणमा सत्ताको स्तुति’। के यस्तै हुनुपर्छ पत्रकारिता ?
हाम्रो उद्देश्य नेता बनाउने होइन, नेता नियन्त्रण गर्ने हो। हामी वकिल होइनौँ, मिडिया हौँ — निर्णय होइन, तथ्य देखाउने काम गर्छौँ। तर आजकल पत्रकारहरू आफैँ जज बनेका छन् अभियोग लगाउने पनि उनी, फैसला सुनाउने पनि उनी, अनि प्रमाण खोज्न जरुरी ठान्दैनन्।
अब यो कलम फेरि उठ्नुपर्छ – प्रश्न गर्नका लागि, खोज्नका लागि, जनताको पक्षमा बोल्नका लागि । सङ्गठन भित्रैबाट आवाज उठाउनुपर्छ — कि हामी यो गिज्याइरहेको झुटको खेलमा सामेल छैनौँ। हामी सत्यका पक्षधर छौँ, जनताको सिपाही हौँ, र हामी कलम चलाउने हरेक शब्दमा बाँच्ने छौं
‘पत्रकारिता जागिर होइन, जिम्मेवारी हो।
सङ्गठन खोल्नेले मात्र होइन,
सङ्गठनमा सत्य जोगाउनेले नै साँचो पत्रकार बन्छ।’